काठमाडौँ – भियतनाममा हुने पिकलबल विश्वकपका लागि दुईवटा उमेरसमूहका नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा भएको छ।
अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा पिकलबल आयोजना हुँदै छ। नेपाल पहिलोपल्ट पिकलबल विश्वकप खेल्ने भएको छ। उक्त विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटगरी र ५० वर्षमाथि सिनियर क्याटगरीमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी घोषणा गरिएको हो।
पिकलबल एसोसिएशन नेपालले नक्सालमा मंगलवार आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली खेलाडीको नाम सार्वजनिक गर्यो। सिनियर क्याटगरीमा हर्षसागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान छन्। ओपन क्याटगरीमा भने ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दीक्षा राना, सञ्जील कंसाकार र किरण खनाल छनोट भएका छन्।
उक्त कार्यक्रमको अवसरमा पिकलबल एशोसिएशन नेपालका अध्यक्ष सौरभ भण्डारीले पाँच वर्षदेखि निरन्तर प्रयासपछि पहिलोपल्ट विश्वकपमा सहभागी हुन लागेको बताए। नेपाली खेलाडीहरूले विश्वमाझ नेपालको खेल क्षमता र राष्ट्रिय गौरव प्रस्तुत गर्दै पदक जित्ने उनको विश्वास छ।
कार्यक्रममा अध्यक्ष सौरभ भण्डारी, वरिष्ठ पत्रकार दिलभूषण पाठक, टिम नेपालका क्याप्टेन ज्याक्सन सुवेदीलगायतले विश्वकपको तयारी, सम्भावना र अनुभव राखे। विश्वकपमा नेपालले विश्वका विभिन्न देशका खेलाडीसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। उक्त विश्वकपमा कुल पुरस्कार राशि पाँच लाख अमेरिकी डलर रहेको छ। पिकलबल टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको मिश्रित स्वरूपजस्तो देखिने र्याकेट खेल हो।
यसमा प्याडल र प्वाल भएको हल्का प्लास्टिकको बल प्रयोग गरिन्छ। टेनिसको तुलनामा सानो कोर्टमा नेट राखेर खेलिने पिकलबल एकल वा २-२ जनाको टोली बनाएर खेल्न सकिन्छ। यो खेल अमेरिकाबाट विश्वका विभिन्न देशमा तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ।
सरल नियम र सहज खेलशैलीका कारण पछिल्लो समय पिकलबल लोकप्रियता बढेको आयोजकले जनाएको छ। यसपल्ट यस विश्वकपमा ८१ देशका १५६ टोली गरी पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।