अमेरिकाले इरानविरुद्ध आर्थिक डी–डेको चेतावनी दिँदै नयाँ र कठोर प्रतिवन्धहरूको घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै इरानलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा एक्ल्याउने उद्देश्यले ‘अपरेशन इकोनोमिक आउटकास्ट’ शुरु गरिएको जानकारी दिएका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा चालिएको यस कदमलाई इरानको वित्तीय सञ्जालविरुद्धको एक अभूतपूर्व अभियानका रूपमा हेरिएको छ। अर्थमन्त्री बेसेन्टकाअनुसार इरानको तर्फबाट मुद्रा निर्मलीकरण (मनी लाउण्डरिङ) मा सहयोग पुर्याउने जुनसुकै निकायलाई अमेरिकी डलर प्रणालीबाट निष्कासित गरिनेछ।
यस पटकको प्रतिवन्धले विशेष गरी इरानका पाँचवटा मुख्य क्षेत्रहरूलाई लक्षित गरेको छ, डिजिटल सम्पती, प्रविधि, सुन, उड्डयन र ढुवानी (सिपिङ)। यी क्षेत्रहरूलाई इरानले वैदेशिक व्यापार र स्रोत परिचालनका लागि मुख्य आधारका रूपमा प्रयोग गर्दै आएको अमेरिकी दाबी छ।
नयाँ घोषणासँगै अमेरिकी अर्थ मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले ६० भन्दा बढी संस्थाहरू, व्यक्तिहरू र पानीजहाजहरूमाथि प्रतिबन्ध लगाएको छ। यी निकायहरू इरानको अवैध परमाणु र मिसाइल प्रविधि खरिद, साइबर अपरेशन तथा तेल राजश्व संकलनमा संलग्न रहेको बताइएको छ। अर्थमन्त्री बेसेन्टले चेतावनी दिँदै भने, ‘इरानसँग व्यापारिक सम्बन्ध जारी राख्ने जो कोहीका लागि अब जोखिमको दायरा फराकिलो भएको छ र हामी उनीहरूमाथि कारबाहीको गतिलाई तीव्र बनाउनेछौँ।’
यसैबीच, राष्ट्रपति ट्रम्पले विश्वका विभिन्न मुलुकका नेताहरूलाई टेलिफोन गर्दै इरानसँगको सम्बन्ध र सहकार्य अन्त्य गर्न आग्रह गरिरहेको समेत मन्त्रालयले जनाएको छ। नयाँ प्रतिवन्धहरूले इरानमाथि अन्तर्राष्ट्रिय आर्थिक दबाब थप बढ्ने निश्चित देखिएको छ।