उदयपुरमा दुर्घटना, स्कुल बसको ठक्करबाट दुई महिलाको ज्यान गयो

उदयपुरमा दुर्घटना, स्कुल बसको ठक्करबाट दुई महिलाको ज्यान गयो

उदयपुर – उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए।

आज मदनभण्डारी राजमार्गको बेल्टार चतरा सडकखण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको कोप्र ५–१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो।

प्रहरी नायब उपरीक्षक बमका अनुसार अटोमा चालकसहित पाँच जना सवार रहेकामा सबै घाइते भएका छन्। घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए।

दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का अन्दाजी २८ वर्षीय ईन्द्र थापा, मोरङको विराटनगर महानगरपालिका–१२ का अजित गुरुङ र बेलका–५ का १८ वर्षीय रोशन मगर घाइते भएका प्रहरी नायब उपरीक्षक बमले बताए। घाइते तीनै जनाको प्रतिष्ठानमा उपचार भइरहेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले बस र चालक बेलका नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खबरपाटी
खबरपाटी