काठमाडौं – माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा हुने डुबानको प्रमुख कारण पूर्वाधार निर्माणका क्रममा भएका प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा प्राकृतिक जल पुनर्भरण क्षेत्रको संकुचन रहेको प्राविधिक प्रतिवेदनले औँल्याएको छ।
साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा गरिएको स्थलगत अनुगमनपछि गठित प्राविधिक टोलीले शनिबार प्रतिवेदन बुझाउँदै माइतीघर डुबानका संरचनागत तथा व्यवस्थापकीय कमजोरीहरू सार्वजनिक गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के.सी.को संयोजकत्वमा गठित समितिमा काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य रहेका थिए।
प्रतिवेदनअनुसार माइतीघर क्षेत्रमा ढल निकास प्रणालीमै गम्भीर इन्जिनियरिङ त्रुटि रहेको पाइएको छ। माथिल्लो भागमा ९० सेन्टिमिटर व्यासको ढल रहेको भए पनि तल्लो भागमा पुग्दा त्यो ६० सेन्टिमिटरमा साँघुरिएकाले वर्षाको समयमा पानीको अत्यधिक चाप सिर्जना भई ‘बोटलनेकिङ’ समस्या उत्पन्न हुने र पानी सडकमा जम्ने गरेको उल्लेख गरिएको छ।
त्यस्तै, टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलातर्फ निकास हुन नसकी उल्टै सडक र बस्तीमा फर्किने ‘ब्याक फ्लो’ समस्या पनि डुबानको अर्को मुख्य कारणका रूपमा प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनले विगतमा वर्षाको पानी सोस्ने प्राकृतिक जल पुनर्भरण क्षेत्रका रूपमा रहेका खुला स्थानहरूमा जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिलको कार्यालयलगायतका संरचना निर्माण भएपछि जमिन कंक्रिटले ढाकिएको र पानी सोसिने प्राकृतिक प्रक्रिया अवरुद्ध भएको निष्कर्ष निकालेको छ। यसले सतहमा बग्ने पानीको मात्रा बढेर माइतीघर क्षेत्रमा केन्द्रित हुने अवस्था सिर्जना गरेको उल्लेख छ।
अनुगमनका क्रममा ढलमाथि नै व्यक्तिगत तथा सरकारी संरचना निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको तथा ढलभित्र प्लास्टिकजन्य फोहोर, बोतल र ढुंगा–गिट्टी थुप्रिँदा पानीको बहाव प्रभावित भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनले तत्कालका लागि ढल निकासमा रहेका अवरोध हटाउने, म्यानहोलको उचाइ बढाउने तथा नियमित सरसफाइलाई प्राथमिकता दिन सुझाव दिएको छ। दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गामा भूमिगत ठूलो क्षमताको वर्षा पानी भण्डारण ट्याङ्की निर्माण गर्न सिफारिस गरिएको छ।
यसैगरी, टुकुचा खोलाको निकास बिन्दुमा ‘नन रिटर्न भल्भ’ जडान, उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ, क्याचमेन्ट क्षेत्रका आधारमा ढल प्रणाली पुनः डिजाइन तथा सडक, खानेपानी, ढल र विद्युत् निकायबीच एकीकृत समन्वय प्रणाली विकास गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ।