काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ । पार्टीले स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ । निर्देशनमा एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ ।
स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । निर्देशनमा नियुक्ति पारिवारिक र नातागोताभन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ । सरकारले हालै संघीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गरिएको छ । योे व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन् ।
रास्वपाले भने राज्यकोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड दिएको छ । पार्टीले योग्यता, क्षमता, कार्यदक्षता र व्यावसायिकताका आधारमा मात्रै स्वकीय सचिव छनोट गर्न सांसदहरूलाई आग्रह गरेको छ ।