काठमाडौँ – सहकारी (पहिलो संशोधन) विधेयक पनि प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
बिहीवारको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पेश गरेको ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरिएको हो। यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रस्ताव प्रस्तुत हुनुका साथै दफावार छलफल भएको थियो ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारी ऐन, २०७४ लाई संशोधन गर्न लागिएको जानकारी दिइन् । उनले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने चक्रीय कोषमा राज्यको कोषको पैसा नहालेको जिकिर गरिन् । उनले अघिल्लो सरकारले विनियोजन गरेको २५ करोड रुपैयाँबाट कोष सञ्चालन गरेको दाबी गरिन् ।
मन्त्री रावलले सहकारी वचत रकम अपचलनमा संलग्न सञ्चालक र व्यवस्थापकको सम्पत्ति जफत तथा ऋण असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने समेत स्पष्ट पारिन् । छलफलका क्रममा प्रतिपक्षी नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सहकारी पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाउन माग गरिन्।