नेपाल कृषि महासङ्घको नयाँ नेतृत्व चयन, शिवसुन्दर श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

नेपाल कृषि महासङ्घको नयाँ नेतृत्व चयन, शिवसुन्दर श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

काठमाडौं — नेपालको कृषि तथा पशुपन्छी क्षेत्रका १२ वटा संस्थाको छाता संगठन नेपाल कृषि महासङ्घको १२औँ वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। साधारणसभाले शिवसुन्दर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानले नेपालले केही कृषि उपजमा आत्मनिर्भरता हासिल गरेको र केही वस्तु निर्यातसमेत गरिरहेको उल्लेख गर्दै निर्यात विस्तारका लागि अझै धेरै सम्भावना रहेको बताउनुभयो। उहाँले उत्पादनोपरान्त प्रविधिको प्रयोग, मूल्यशृङ्खलामा सुधार, उन्नत बीउबिजनको प्रयोग तथा दिगो मलखाद व्यवस्थापनमार्फत कृषि क्षेत्रका चुनौती समाधान गर्न सकिने धारणा राख्नुभयो।

उहाँले नेपाली भेडाको ऊन प्रशोधनका आधुनिक प्रविधि, नेपाली महको ब्रान्डिङ, केसर खेती तथा कस्तुरी पालनजस्ता उच्च मूल्यका कृषि तथा पशुपालनजन्य उत्पादनको विकासबाट रोजगारी सिर्जना, आम्दानी वृद्धि तथा खाद्यान्न आयात घटाएर व्यापार घाटा न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो।

कार्यक्रममा महासङ्घका सचिव हिक्मतकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रज्ञा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। साथै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको १० वर्षे उपलब्धिबारे विशेष प्रस्तुति पनि गरिएको थियो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि योजनाको प्रभावकारी कार्यान्वयन भए नेपालको कृषि क्षेत्रले द्रुत विकास गर्न सक्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै कृषि विकासका कार्यक्रम सञ्चालन गर्न महासङ्घलाई सुझाव दिनुभयो।

पूर्वसचिव तथा महासङ्घका सल्लाहकार गणेशकुमार के.सी.ले महासङ्घले आबद्ध संस्थाहरूको साझा आवाजका रूपमा नीतिगत तहमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। अर्का पूर्वसचिव ब्रजकिशोरप्रसाद शाहले कृषिकर्मीको क्षमता अभिवृद्धि र हितका लागि महासङ्घले थप सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमका अध्यक्ष शिवसुन्दर श्रेष्ठले कृषि क्षेत्रका चुनौती समाधानका लागि महासङ्घले सरकारसमक्ष आयात प्रतिस्थापन, तुलनात्मक लाभ भएका कृषि वस्तुको उत्पादन वृद्धि, स्थानीय तहमा दक्ष कृषि विज्ञको व्यवस्थापन, सरकारी फार्म केन्द्रको संरक्षण तथा अनुभवी कृषि विज्ञहरूको परिचालनजस्ता विषयमा निरन्तर सुझाव दिँदै आएको जानकारी दिनुभयो।

डा. सावित्री बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष मोहनबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा महासङ्घका वर्तमान तथा पूर्व पदाधिकारी, कृषि तथा पशुपन्छी क्षेत्रका विज्ञ तथा मन्त्रालय मातहतका निकायमा कार्यरत एवं सेवा निवृत्त अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

साधारणसभाले शिवसुन्दर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा मोहनबहादुर थापा, महासचिवमा डा. कालिकाप्रसाद उपाध्याय, सचिवमा हिक्मतकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रज्ञा श्रेष्ठ तथा सदस्यहरूमा डा. योगेन्द्रकुमार कार्की, कृष्णकुमार श्रेष्ठ, देवकी श्रेष्ठ, डा. सावित्री बराल, रामप्रसाद पुलामी, देवेन्द्रप्रसाद यादव, डा. भवप्रसाद त्रिपाठी, सरोजकान्त अधिकारी, प्रमोद रिजाल र सञ्जय धिमाल निर्विरोध निर्वाचित हुनुभएको छ।

खबरपाटी
खबरपाटी