शान्ति वाटिकामा रहेको गणेशमान सिंहको सालिक हटाइने

शान्ति वाटिकामा रहेको गणेशमान सिंहको सालिक हटाइने

काठमाडौँ – शान्ति वाटिकामा रहेको गणेशमान सिंहको सालिक हटाइने भएको छ।

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो निर्देशन दिएकी हुन्।

काठमाडौँ महानगरको ५३ औँ नगर कार्यपालिका बैठकमा उनले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन्।

शान्ति वाटिकामा रहेका संरचना हटाउन कुनै कानूनी समस्या नरहेको उनको भनाइ छ। शान्ति वाटिकामा रहेका गणेशमान सिंहको सालिक, नेपाल प्रहरीको कार्यालय लगायतका संरचना हटाएर वडाध्यक्ष र महानगरमा जानकारी दिन निर्देशन दिइन्।

उनले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिएकी छिन्।

उनले फोहर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिइन्। उनले कोर एरिया र कोर क्षेत्रबाहिरको फोहर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताइन्।

उनले जनप्रतिनिधिको सुविधासम्बन्धी विषयमा नगरसभाले निर्णय गरिसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा गरिएको जानकारी दिइन्।

डंगोलले भनिन्‚ ‘कार्यकारी प्रमुख प्रशासकीय अधिकृतलाई मैले निर्देशन दिएँ। शान्ति वाटिकाको संरचना यथासम्भव आजै हटाए हुन्छ। त्यहाँ कानूनी रूपमा कुनै पनि व्यवधान छैन।’

उनले अव्यवस्थित बसोवास र सुकुमवासी व्यवस्थापन गर्न भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गरेको पनि जानकारी दिइन्।

बैठकमा वडागत समस्या प्रस्तुत गर्दै सुकुमवासी र अव्यवस्थित बसोवासको दिगो समाधान खोज्ने गरी विस्तृत छलफल गरिने उनको भनाइ छ।

 

खबरपाटी
खबरपाटी