संखुवासभामा लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित

संखुवासभामा लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित

संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन्।

शनिबार रातिदेखि आएको वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। उनका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको सात जनाको परिवार, मङ्गलबहादुर राईको छ जनाको विस्थापित भएको हो।

त्यस्तै, सुकप्रसाद राईको चार जनाको, मिरा राईको पाँच जनाको धनमान राईको तीन जनाको र अरुणसङ्गम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। पहिरोबाट विस्थापित सात परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ।

बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घटना लगत्तै सोमबार बिहान जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए। उनका अनुसार थप क्षतिको विवरण सङ्कलन तथा अनुगमन भइरहेको छ।

खबरपाटी
खबरपाटी