काठमाडौं - राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व नै नेपाल राष्ट्र बैंकको लक्ष्य रहेको बताएका छन् । उनले वित्तीय स्थायित्वमा केन्द्रित हुने भएकाले मौद्रिक नीति लिएका लक्ष्यलाई नै आधार बनाएर असफल मान्न नमिल्ने बताए। पछिल्लो २-३ वर्षमा मौद्रिक नीतिमा कर्जा विस्तार गर्ने लक्ष्य लिइरहेकोमा लक्ष्य अनुसार हुन सकेको छैन । बैंक तथा वितीय संस्थामा अधिक तरलता छ ।
'२०७७ सालको मौद्रिक नीतिमा पुनर्कर्जा को नीति लिएको थियो । कोभिडको समयमा त्यसलाई निश्चित अवधिका लागि ल्याइएको थियो । तर त्यो सधैं दिइरहन मिल्दैन । उद्योगी व्यवसायीले पनि यो कुरा बुझ्नु पर्छ,' उनले भने ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकालले सबैले बुझ्ने भएकोले फाइनान्सियल सेक्टरको पोलिसीमा चासो बढिरहेको बताए । उनले बजारलाई तरलता प्रशोचन गर्न सक्ने गरि क्षमता विस्तार गर्नुपर्ने बताए ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा लिइएका कसिलो व्यवस्थाका कारण अहिले अर्थतन्त्रमा समस्या आएको बताए । उनले कोभिडको समयमा कर्जा वृद्धि पनि भएको र विदेशी मुद्रा पनि कम भएको अवस्थामा समस्या आएको विषयको उदाहरण दिए । त्यस समयमा संकटलाई टार्न लिइएका कसिलो व्यवस्थाको असर अहिले देखापरेको बताए । उनले भने,'हामीले कुन क्षेत्रमा कर्जा वृद्धि गर्न खोजेको हो वित्त नीति र मौद्रिक नीतिमा प्रष्ट रूपमा उल्लेख गरेर आउनु पर्छ । अहिले टाल्टुले अवस्थामा वृद्धि हुन सकेको छैन ।'