खोखो प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज र छात्रातर्फ कन्या मन्दिर मा. वि. विजेता

खोखो प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज र छात्रातर्फ कन्या मन्दिर मा. वि. विजेता

काठमाडौँ - प्रथम उपमेयर कप अन्तर विद्यालय खोखो प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज मा. वि. र छात्रातर्फ कन्या मन्दिर मा. वि. ले प्रथम स्थान हासिल गरेका छन् । असार ११ गते देखि कीर्तिपुर कभर्ड हलमा आयोजना भएको प्रतियोगिता अन्तर्गत शनिवार भएको फाइनल खेलमा छात्रतर्फ विश्व निकेतन मा. वि. ले दोस्रो र भीमसेनगोला मा. वि. ले तेस्रा स्थान हासिल गरे । 
छात्रातर्फ पद्मकन्या मा. वि दोस्रो र भीमसेनगोला मा. वि. ले तेस्रो स्थान हासिल गरे । 

काठमाडौँ महानगरपालिकाको ३० लाख रुपियाँ सहयोगमा नेपाल खो खो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरेको हो । 

महिला र पुरुष छुट्टाछुट्टै समूहमा खेल सञ्चालन भएको प्रतियोगिताका विजेतालाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद, शिल्ड तथा प्रमाण पत्र प्रदान गर्नुभयो । यस क्रममा प्रथम हुने टीमलाई ५० हजार रुपियाँसहित मेडल र प्रमाण पत्र, दोस्रो र तेस्रो हुने टीमले क्रमशः २५ हजार रुपियाँ र १० हजार रुपियाँ प्रदान गरिएको थियो । 

प्रतियोगितामा वेष्ट रनर विधाको छात्रतर्फ विश्व निकेतन मा. वि. का सूर्य लामिछाने र छात्रातर्फ पद्म कन्या मा. वि. की प्रमिला हस्दा विजेता बन्नुभयो । वेष्ट चेजर विधाको छात्रतर्फ शान्ति निकुञ्जका समीर रौनियार र छात्रातर्फ कन्या मन्दिर मा. वि. की रोजिना तामाङ विजेता बन्नुभयो । उहाँहरुलाई जनही १० हजार रुपियाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

विजेता छात्रछात्रालाई पुरस्कार वितरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, बालबालिकाको शारीरिक, मानसिक तथा सर्वाङ्गीण विकासको सन्तलुनका लागि महानगरपालिकाले शिक्षा र खेलकुदमा लगानी बढाएको बताउनुभयो । 

‘पढाइमा विभिन्न विषय भएजस्तै खेलका पनि विभिन्न विधा छन् । विद्यार्थीहरुमा फरक फरक विधाका खेलमा रुचि हुन सक्छ । हामी विद्यार्थीहरुले रुचि गरेका खेलको विकास गराउँछौँ ।’ डंगोलले भन्नुभयो, ‘यसबाट बालसुलभ शिक्षण सिकाइमा समेत मद्दत हुनेछ ।’

प्रतियोगिताका खेलाडीहरुलाई १ लाख रुपियाँ बराबरको दुर्घटना बिमा गरिएको थियो । 

खेलमा छात्रातर्फ १० र छात्रतर्फ ८ गरी १८ टीमका २१६ खेलाडी प्रतिस्पर्धामा थिए । खेलाडीसहित प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा ३६ जना प्रशिक्षक र टीम व्यवस्थापक गरी २५२ जनाको प्रत्यक्ष सहभागिता थियो । 

प्रतियोगितामा शान्ति निकुञ्ज मा. वि., महांकाल मा. वि., भीमसेनगोला मा. वि., पद्मकन्या मा. वि., जनप्रभात मा. वि., सहिद शुक्र मा. वि., विश्व निकेतन मा. वि., सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मा. वि. र कन्या मन्दिर माध्यमिक विद्यालयले भाग लिएका थिए । 

प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुबै समूहका खेलाडीहरुले भाग लिएका थिए । लिग नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको निर्णयका लागि ३० जना निर्णायक मण्डल हुनुहुन्थ्यो ।

खबरपाटी
खबरपाटी