रास्वपा पदाधिकारीका लागि कडा प्रतिष्पर्धा, केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

रास्वपा पदाधिकारीका लागि कडा प्रतिष्पर्धा, केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा शुरु भएको छ । केन्द्रीय सदस्यहरूको लागि भएको चुनावको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै पदाधिकारीका लागि चुनावी प्रतिष्पर्धा शुरु भएको हो ।

रास्वपाको विधानमा कूल १९ पदाधिकारी रहने व्यवस्था भए पनि ६ वटा पदका लागि चुनावी प्रतिष्पर्धा भएको हो । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भैसक्नुभएको छ । वरिष्ठ नेतामा बालेन्द्र शाहलाई चयन गर्ने निश्चित छ ।

बाँकी रहेका पदहरूमध्ये एक खुला उपसभापति, एक महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सह–महामन्त्री र एक महिला सह–महामन्त्री पदका लागि कडा प्रतिस्पर्धा हुँदैछ । अरु पदाधिकारीका लागि समावेशी सिद्धान्तका आधारमा पछि मनोनित गरिने रास्वपाले जनाएको छ ।

उपसभापतिमा डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठबीच प्रतिष्पर्धा छ । त्यस्तै महिला उपसभापतिमा सोबिता गौतम, इन्दिरा राना मगर र डा. तोसिमा कार्कीले उम्मेदवारी दिएका छन् ।

महामन्त्रीका लागि मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, रञ्जु दर्शना, सागर ढकाल, गणेश पराजुली लगायतले दावी गरेका छन् । यस्तै, सह–महामन्त्रीका लागि हरि ढकाल, पुकार बम, असिम शाह, रिमा विश्वकर्मा, ज्वाला संग्रौला लगायत प्रतिष्पर्धामा छन् ।

९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको चुनावको मतपरिणाम गएराति सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार डा. स्वर्णिम वाग्लेले सर्वाधिक २६०७ मत ल्याउनुभएको छ । दोस्रोमा सोविता गौतमले २५९४ र तेस्रोमा शिशिर खनालले २४९५ मत ल्याउनुभएको छ । पदाधिकारीको लागि आज बिहान १० बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ । 

खबरपाटी
खबरपाटी