स्वदेशी उत्पादन प्रवर्द्धनका लागि नेपाल डेरी एसोसिएसनद्वारा दही-चिउरा उपभोग कार्यक्रम सम्पन्न

स्वदेशी उत्पादन प्रवर्द्धनका लागि नेपाल डेरी एसोसिएसनद्वारा दही-चिउरा उपभोग कार्यक्रम सम्पन्न

काठमाडौं - २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ (रोपाइँ महोत्सव–२०८३) को अवसरमा नेपाल डेरी एसोसिएसनले ‘दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम–२०८३’ आयोजना गरेको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै ‘दही–चिउरा खाऔँ, धान दिवस मनाऔँ, स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढाऔँ’ भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न गरिएको हो।

हाईलाइफ एग्री एण्ड फुड इण्डष्ट्रिज लिमिटेडको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय, सहकारी संस्था, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो। कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि श्रेष्ठले नेपाल कृषि महासंघका अध्यक्ष तथा ज्येष्ठ सदस्य शिवसुन्दर श्रेष्ठलाई दहीपान गराएर गरेका थिए। नेपाली मौलिक खाद्य संस्कृति, कृषि उत्पादन तथा दुग्धजन्य पदार्थको उपभोग प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरकारी प्रतिनिधि, सहकारीकर्मी, निजी क्षेत्रका उद्यमी–व्यवसायी, दुग्ध उत्पादक किसान, डेरी उद्योगका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले कृषि र दुग्ध क्षेत्रबीचको अन्तरसम्बन्ध, राष्ट्रिय अर्थतन्त्रमा कृषक तथा दुग्ध व्यवसायीहरूको योगदान र स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले दुग्ध क्षेत्रले हाल भोगिरहेका चुनौतीहरू, विशेषगरी उत्पादन, बजारीकरण, बिक्री–वितरण, भुक्तानी व्यवस्थापन तथा उपभोग अभिवृद्धिका विषयमा समेत धारणा व्यक्त गरेका थिए।

नेपाल डेरी एसोसिएसनले स्थानीय तथा मौलिक खाद्य संस्कृतिको संरक्षण, दही–चिउराको उपभोग प्रवर्द्धन, दुग्धजन्य पदार्थको माग वृद्धि तथा किसान र उद्योगीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

यसै अवसरमा आयोजक संस्थाले दुग्ध क्षेत्रको वर्तमान अवस्था, अवसर र चुनौती, उत्पादन वृद्धि, बजार व्यवस्थापन, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग तथा दुग्धजन्य पदार्थको उपभोग विस्तारसम्बन्धी विषय समेटिएको प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरेको छ।

खबरपाटी
खबरपाटी