लुम्बिनी टेक र रेडियन्ट कलेजबीच सम्झौता, प्रविधि शिक्षालाई उद्योगसँग जोडिने

लुम्बिनी टेक र रेडियन्ट कलेजबीच सम्झौता, प्रविधि शिक्षालाई उद्योगसँग जोडिने

रुपन्देही - नेपालमा प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र रेडियन्ट कलेजबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

स्थानीय प्रविधि क्षेत्रलाई थप सुदृढ बनाउने लक्ष्यसहित गरिएको यस सहकार्यले परम्परागत शैक्षिक अध्यापन र द्रुत गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि (आईटी) उद्योगबीचको दूरी कम गर्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार रेडियन्ट कलेजको शैक्षिक अनुभव र लुम्बिनी टेकको व्यावहारिक उद्योग अनुभवलाई एकीकृत गर्दै स्थानीय युवालाई दक्ष जनशक्ति बनाउने, लुम्बिनी प्रदेशमा आईटी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई डिजिटल युग सुहाउँदो सीप प्रदान गर्ने लक्ष्य राखिएको छ।

सम्झौताका मुख्य बुँदाअनुसार सूचना प्रविधि उद्योगको मागअनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र सफ्टवेयर इन्जिनियरिङजस्ता आधुनिक विषयलाई पाठ्यक्रममा समावेश गरिनेछ। साथै, विद्यार्थीहरूलाई इन्टर्नशिप तथा वास्तविक व्यावसायिक एवं सामुदायिक प्राविधिक परियोजनामा सहभागी गराइने व्यवस्था मिलाइनेछ।

त्यसैगरी, अत्याधुनिक सफ्टवेयर तथा एआई प्रयोगशालाको विकास र सञ्चालनमा प्राविधिक सहकार्य गरिने, कर्पोरेट क्षेत्रका विज्ञमार्फत विशेष कक्षा सञ्चालन गरिने तथा प्राध्यापकहरूको क्षमता अभिवृद्धिका लागि संकाय विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। उत्कृष्ट तथा नवप्रवर्तनशील विद्यार्थीहरूलाई छात्रवृत्ति र विशेष आर्थिक अनुदानको समेत व्यवस्था गरिनेछ।

समझदारी पत्रमा लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धनबहादुर राना र रेडियन्ट कलेजका प्रिन्सिपल अनन्त पाण्डेले हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा लुम्बिनी टेकका संस्थापक निर्देशक कृष्ण सापकोटा साक्षीका रूपमा उपस्थित हुनुहुन्थ्यो।

सम्झौतापछि बोल्दै लुम्बिनी टेकका संस्थापक अध्यक्ष रानाले स्थानीय स्तरमै दिगो तथा दक्ष जनशक्ति तयार गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको बताउनुभयो। विद्यार्थीलाई प्राविधिक रोडम्याप र वास्तविक बजारको कार्यशैलीसँग परिचित गराएर सफल करियर निर्माणमा सहयोग पुर्‍याइने उहाँको भनाइ थियो।

रेडियन्ट कलेजका प्रिन्सिपल पाण्डेले उद्योगमैत्री पाठ्यक्रम र प्रोजेक्ट–आधारित सिकाइले विद्यार्थीलाई अध्ययन पूरा गरेलगत्तै रोजगारी बजारमा प्रतिस्पर्धात्मक लाभ दिलाउने विश्वास व्यक्त गर्नुभयो।

खबरपाटी
खबरपाटी