जनमत प्राप्त सरकारले करको विवेकपूर्ण उपयोग गर्छ : अर्थमन्त्री वाग्ले

जनमत प्राप्त सरकारले करको विवेकपूर्ण उपयोग गर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले विभिन्न स्रोतबाट उठाएको करलाई आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण ढंगले उपयोग गर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कर संकलन र उपयोगका विषयमा सरकार स्पष्ट रहेको बताए।

उनले विभिन्न शीर्षकमा उठाइने करलाई निश्चित प्रयोजनमा मात्र खर्च गर्ने व्यवस्था गर्न सकिने भए पनि त्यसमा प्रशासनिक र कानुनी जटिलता आउन सक्ने उल्लेख गरे।

“सयौँ, हजारौँ स्रोतबाट कर उठाउन सकिन्छ। त्यसलाई कुनै निश्चित प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी व्यवस्था गर्न सकिन्छ, तर त्यससँगै प्रशासनिक र कानुनी चुनौती पनि आउँछन्,” उनले भने।

अर्थमन्त्री वाग्लेले सबै स्रोतबाट संकलन भएको राजस्व सञ्चित कोषमा जम्मा हुने र जनताबाट निर्वाचित सरकारले त्यसलाई प्राथमिकताका आधारमा खर्च गर्ने बताए।

उनले पूर्वाधार वा अन्य क्षेत्रका लागि उठाइएका कर सम्बन्धित क्षेत्रमै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बजेटमार्फत प्रतिबिम्बित हुने दाबी गरे। संसद्ले आवश्यक ठानेमा विशेष प्रकारको बजेट व्यवस्था गर्न सक्ने अधिकार पनि सार्वभौम संसद्मा रहेको उनले स्पष्ट पारे।

खबरपाटी
खबरपाटी