विपद् व्यवस्थापनमा सरकार तयारी अवस्थामा, आवश्यक परे हेलिकोप्टर परिचालन गरिने

विपद् व्यवस्थापनमा सरकार तयारी अवस्थामा, आवश्यक परे हेलिकोप्टर परिचालन गरिने

काठमाडौं - सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । 

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको र जोखिमयुक्त स्थानमा सुरक्षा निकायहरू खटाइसकेको जानकारी दिए । 

सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै बढी प्रभावकारी रूपमा विपद् व्यवस्थापनमा खटिन निर्देशन दिइसकेको उनले बताए । 

उनले जनताको सुरक्षाको लागि आवश्यक परे हेलिकोप्टर परिचालन गर्ने समेतको योजना रहेको जानकारी दिए । 

मन्त्री गुरुङले सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्ने गरी आवश्यक पूर्वाधारको समेत व्यवस्था भइसकेको उल्लेख गरे । 

मन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल पछि नागरिकको सेवामा खटिन र गलत गर्ने कसैलाई पनि उन्मुक्ति नदिने गरी निर्मम हुन निर्देशन दिएको जानकारी दिए । 

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुन पूर्वतयारीको बारेमा छलफल भएको जानकारी दिए । उनले यसवर्ष सरदरभन्दा कम वर्षा हुने र वर्षा भए एकै ठाँउमा धेरै वर्षा हुने अनुमान गरिएकाले त्यसैअनुसार तयारी भएको बताए । 

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तयारी अवस्थामा जुट्न गृहमन्त्रीले निर्देशन दिएको कोइराराले जानकारी दिए । 

प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्‍बाट देशभर करिब ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।

खबरपाटी
खबरपाटी