काठमाडौँ – काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेकी छिन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य नेपाली महिलाहरूको अवस्था भयावह रहेको बताइन्। अवैध बाटोबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिला जोखिममा रहेको उनले बताइन्।
कुवेतमा समस्यामा परेकी नेपाली चेली सर्मिला दर्जीलाई निकै प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको भन्दै उनले त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको कारुणिक अवस्था रहेको दाबी गरिन्। आफूले सदनमा तीन पटकसम्म विषय उठाएपछि नेपाली राजदूतावाससँगको निरन्तर समन्वयपछि शर्मिला दर्जीलाई स्वदेश फर्काउन सफल भएको बताइन्।
‘‘नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायले उनलाई रोक्न जेल पठाएका थिए’, उनले भनिन्, ‘मैले फेरि दूतावासमा सम्पर्क गरी कडा रूपमा कुरा उठाएपछि मात्र उनलाई रिहा गरियो र हिजो उनी स्वदेश आइपुगिन्।’
उद्धार गरिएकी महिलाको भनाइ उद्धृत गर्दै सांसद ओलीले कुवेतका जेलहरूमा अझै सयौँको सङ्ख्यामा नेपाली महिलाहरू रहेको र तीमध्ये कतिपयले मानसिक सन्तुलन समेत गुमाइसकेको जानकारी दिइन्।