नागढुंगा सुरुङ परियोजनामा जापानको थप लगानी प्रतिबद्धता

नागढुंगा सुरुङ परियोजनामा जापानको थप लगानी प्रतिबद्धता

काठमाडौं - जापानले नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि नेपाललाई थप ५.७ अर्ब येन (५.५ अर्ब रुपैयाँ) ऋण दिने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा नेपाल र जापानका अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गरेका थिए ।

नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि जापान सरकारले डिसेम्बर २०१६ मा १६.६३६ अर्ब येन नेपाललाई उपलब्ध गराउने गरी सम्झौता भएको थियो । तर, बढ्दो मूल्य र अन्य कारणहरूले गर्दा रकम अभाव भएपछि थप ५.७ अर्ब येन ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।

बुधबार भएको सम्झौतासँगै नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण रकम २२.३३६ अर्ब येन पुगेको छ ।

नागढुंगा सुरुङको निर्माण सन् २०१९ मा सुरु भएको थियो । “यो परियोजनाले युवा नेपाली इन्जिनियरहरूलाई उन्नत जापानी सीप हस्तान्तरण गर्ने एक अद्वितीय अवसर प्रदान गरेको छ । यसले भविष्यमा नेपाली जनतालाई पक्कै पनि फाइदा पुर्‍याउनेछ,” काठमाडौंस्थित जापानी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खबरपाटी
खबरपाटी