संसदीय समितिहरूको सभापतिको निर्वाचन आज

संसदीय समितिहरूको सभापतिको निर्वाचन आज

काठमाडौं - संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुँदैछ। प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको छुट्टाछुट्टै बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ। सोही बैठकबाट सभापतिको चयन गरिने जनाइएको छ। 

समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता गरिएको छ। जसमा शिक्षा समिति र  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा दुई–दुईजनाको उमेदवारी परेको छ भने अन्य समितिका सभापतिमा एकल उमेदवारी परेको छ।

कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरीले उमेदवारी दिएका छन्। 

पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकालको उमेदवारी परेको छ। अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन सभापतिमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारीको उमेदवारी मनोनयन भएको छ। 

लेखा समितिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले उमेदवारी दिए। त्यस्तै, संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समिति सभापतिमा बोधनारायण श्रेष्ठले उमेदवारी दिएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालको उमेदवारी छ। संयुक्त समितिअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका मदनकुमारी शाह (गरिमा)ले मनोनयन दर्ता गरेका छन्।

खबरपाटी
खबरपाटी