काठमाडौँ - सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आबद्ध सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सभामुख अर्याललेसंसदका सबै गतिविधि प्रत्यक्ष प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको बताए। उनले सञ्चारकर्मीलाई संसदमा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे।
संसदमा कुनै पनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर अघि बढाउने उनले बताए । सभामुख अर्यालले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिर स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाए।
‘नयाँ नजिरहरू स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले। किनकी अबको समाजलाई त्यो आवश्यक छ। अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ। तर तपाईंहरुले भनेको कुरामा म गम्भीर छु। मलाई यसबारेमा जानकारी छ’, उनले भने, ‘त्यसकारण हामी कुनै पनि कुरालाई लाईभ गरेर सबै कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आएको मान्छेहरु हो। त्यसकारण हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन ।’
सभामुख अर्यालले कानून निर्माणको कामलाई छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताए।