काठमाण्डौ - प्राकृतिक र आध्यात्मिक दृष्टिकोणले कर्णाली प्रदेशलाई ‘विश्वको आरोग्य हबका रूपमा विकास गर्न सकिने सम्भावना बलियो रहेको अनुसन्धानदाताहरूले बताएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । कार्यक्रममा योग विज्ञानदेव संस्कृति विश्वविद्यालय, हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले कर्णालीलाई आरोग्य हबका रूपमा विकास गर्न सकिने ८ वटा प्रमुख आधार प्रस्तुत गर्नुभयो ।
उहाँका अनुसार जडीबुटी तथा प्राकृतिक स्रोत, लोक चिकित्सा, योग–ध्यान, सामुदायिक जीवन, पर्यावरणीय सन्तुलन, वैदिक पद्धति, आयुर्वेद तथा प्राकृतिक चिकित्सा (सोवा–रिग्पा) र स्वस्थ खानपान तथा जीवनशैली कर्णालीलाई विश्वस्तरीय आरोग्य गन्तव्य बनाउन सक्ने आधार हुन् । उहाँले कर्णालीलाई योग–ध्यान केन्द्रित गन्तव्यका रूपमा विकास गर्दै परम्परागत र आधुनिक स्वास्थ्य प्रणालीबीच समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित दिगो पर्यटन विकासमार्फत समग्र आरोग्य प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिलाई समृद्धिको आधार बनाउँदै कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।
उहाँले जडीबुटी केवल उपचारको माध्यम नभई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको उल्लेख गर्दै योग–ध्यान, स्वच्छ वातावरण, जैविक खानपान र आध्यात्मिक अभ्यासले पर्यटकलाई विशेष अनुभव प्रदान गर्न सक्ने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका सामाजिक
विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रममा आएका सुझावका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।