भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री सम्राट चौधरीले लिए पद तथा गोपनीयताको शपथ

भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री सम्राट चौधरीले लिए पद तथा गोपनीयताको शपथ

भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री सम्राट चौधरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता चौधरीलाई आज बिहारका राज्यपाल सैयद अता हसनैनले शपथ दिलाउनुभएको हो ।

उहाँसँगै जनता दल युनाइटेड (जेडीयू) का विजयकुमार चौधरी र बिजेन्द्रप्रसाद यादवले पनि मन्त्रीका रूपमा शपथ लिनुभएको छ । दुवै जना उपमुख्यमन्त्री बन्ने सम्भावना छ ।

५७ वर्षीय सम्राट चौधरी बिहारमा भाजपाको पहिलो मुख्यमन्त्री बन्नुभएको छ । उहाँ कुशवाहा समुदायका हुनुहुन्छ । सन् २०२३ को जातीय सर्वेक्षणअनुसार बिहारमा कुशवाहाको जनसङ्ख्या ४ दशमलव ३ प्रतिशत छ । बिहारमा कुशवाहा यादवपछि सबैभन्दा ठूलो अन्य पिछडिएको समूह हो ।

७५ वर्षीय नीतिश कुमारले राजीनामा दिएपछि चौधरी मुख्यमन्त्री बन्नुभएको हो । जेडीयूका नेता नीतिशले भर्खरै राज्यसभाको सदस्यका रूपमा शपथ लिनुभएको थियो । भारतमा राज्यसभा सदस्यको शपथ लिएको व्यक्तिले अनिवार्य रूपमा १४ दिनभित्र मुख्यमन्त्री पद छाड्नुपर्ने प्रावधान छ ।

यससँगै बिहारको मुख्यमन्त्रीका रूपमा नीतिश कुमारको २१ वर्षे राजनीतिक यात्रा समाप्त भएको छ । उहाँले ५० वर्षभन्दा धेरै समय बिहारको राजनीतिमा प्रभुत्व जमाउनुभयो ।

नीतिश सन् २००० मा पहिलो पटक सात दिनका लागि बिहारको मुख्यमन्त्री बन्नुभएको थियो । सन् २००५ पछि उहाँ लगातारजस्तो बिहारको सरकार प्रमुख हुनुभयो । बिहारमा उहाँको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो ।

नीतिश कुमार सन् २०२५ को नोभेम्बर २० मा कीर्तिमानी १०औँ पटक बिहारको मुख्यमन्त्री निर्वाचित हुनुभएको थियो ।

खबरपाटी
खबरपाटी