आईपीएलमा आरसिबीले मुम्बईलाई हरायो, लखनउलाई हराउँदै गुजरातको लगातार दोस्रो जित

आईपीएलमा आरसिबीले मुम्बईलाई हरायो, लखनउलाई हराउँदै गुजरातको लगातार दोस्रो जित

रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईमा गएराति पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४० रन बनायो ।
आरसीबीका फिल साल्ट र रजत पाटिदारले महत्वपूर्ण योगदान गरे । साल्टले ३६ बलमा समान ६ छक्का र चौकासहित ७८ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, मिचेल सान्टनर र सार्दुल ठाकुरले समान १ विकेट लिए ।
२ सय ४१ रनको लक्ष्य पछ्याएको मुम्बईले पुरै ओभर खेल्दै ५ विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि शेरफेन रदरफोर्डले ३१ बलमा ९ छक्का र १ चौकासहित अविजित ७१ रन बनाए । हार्दिकले २२ बलमा ६ चौका र १ छक्कासहित ४० रन जोडे । आरसिबीका सुयश शर्माले २ विकेट लिए । 
यस्तै हिजै भएको पहिलो खेलमा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गुजरातले लखनऊलाई ७ विकेटले हरायो । पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो  ।
गुजरातको जितमा तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले उत्कृष्ट प्रर्दशन गर्दै ४ विकेट लिए । १ सय ६५ रनको लक्ष्य पछ्याएको गुजरातका कप्तान शुभमन गिलले ३४ बलमा अर्धशतक पूरा गरे । यो जितसँगै गुजरातले आइपिएलमा लगातार दोस्रो जित हात पारेको छ ।
आईपीएलमा आज बेलुकी पौने ८ बजे सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुनेछ । 

खबरपाटी
खबरपाटी