काठमाडौं – अर्को वर्ष ब्राजिलमा हुने फिफा महिला विश्वकपको १०औं संस्करणमा पुग्ने भारतको चुनौती समाप्त भएको छ।
मंगलबार एएफसी एसियन कपमा लगातार तेस्रो हार बेहोर्दै भारत प्रतियोगिताबाट बाहिरिएको छ। एसियन कपबाट बाहिरिएसँगै भारतको सपना समाप्त भएको हो।
अर्को चरणमा प्रवेश गर्ने हो भने ताइपेइविरुद्ध कम्तिमा पनि १२ गोल अन्तरको जित आवश्यक समूह ‘सी’को अन्तिम खेलमा भारतले ३–१ को हार बेहोर्यो । उता यो जितले ताइपेइलाई क्वार्टरफाइनलमा पुर्याएको छ।
यो समूहबाट जापानले यसअघि नै अर्को चरणमा स्थान बनाइसकेका थिए। ताइपेइ समूहको दोस्रो स्थानमा रहेर अर्को चरण पुगेको हो। यो समूहबाट भारतसँगै भियतनाम पनि बाहिरियो।
मंगलबार नै भएको समूहको अर्को खेलमा जापानले भियतनाममाथि ४–० को सहज जित हासिल गर्यो।
सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो। लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ। त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्ने सेटअप थियो
प्रतियोगिताको सेमिफाइनल पुग्ने चार र क्वार्टरफाइनलमा पराजित चारमध्ये एक टोलीले सन् २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपमा स्थान बनाउने समीकरण छ।