आगामी निर्वाचन नजिकिँदै गर्दा यसको आर्थिक र व्यावसायिक प्रभावबारे व्यवसायीहरू पनि सक्रिय छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघका स्थापक अध्यक्ष नरेश कटवालसँग गरिएको कुराकानीमा उनले निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त हुनु आवश्यक भएकोमा जोड दिएका छन्। उनले व्यवसायीहरूका अपेक्षा, लगानी वातावरण र बैंकिङ सुधारका विषयमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।
प्रश्न: निर्वाचन स्वच्छ र भयमुक्त हुनु किन आवश्यक छ ?
नरेश कटवाल: निर्वाचन स्वच्छ र भयमुक्त हुनु अत्यन्तै आवश्यक छ। यसले लोकतन्त्रलाई बलियो बनाउँछ र जनताको विश्वास जित्छ। निष्पक्ष निर्वाचन भए मात्र मुलुकमा स्थायित्व र सकारात्मक वातावरण निर्माण हुन्छ।
प्रश्न: निर्वाचनले अर्थतन्त्र र व्यवसायमा कस्तो प्रभाव पार्छ ?
नरेश कटवाल: पक्कै पनि निर्वाचनले अर्थतन्त्रलाई चलायमान बनाउँछ। निर्वाचनका गतिविधिले बजारमा चहलपहल बढाउँछ। तर बन्द–हडताल, नाराबाजी जस्ता गतिविधिले व्यवसायीहरूलाई असर गर्छ। त्यसैले शान्त र स्वच्छ रूपमा निर्वाचन सम्पन्न होस् भन्ने हाम्रो अपेक्षा छ।
प्रश्न: नयाँ सरकारप्रति व्यवसायीहरूको मुख्य अपेक्षा के–के छन् ?
नरेश कटवाल: नयाँ सरकार, विशेषगरी बहुमतको सरकार बनेमा व्यवसायीहरूको धेरै अपेक्षा हुन्छ। भन्सार र नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण र जनताले चाहेअनुसारको आर्थिक नीति आवश्यक छ।
प्रश्न: बैंक तथा वित्तीय क्षेत्रमा के सुधार आवश्यक देख्नुहुन्छ ?
नरेश कटवाल: बैंकको व्याजदर साना उद्योगीहरूलाई लक्षित गरी २ देखि ३ प्रतिशत कायम हुनुपर्छ। बिना धितो ऋणको व्यवस्था हुनुपर्छ र गरिखाने वर्गलाई प्रोत्साहन दिइनुपर्छ।
प्रश्न: आगामी पाँच वर्षमा लगानी वातावरण कस्तो हुनुपर्छ ?
नरेश कटवाल: अबको पाँच वर्षमा स्वच्छ र सुरक्षित लगानी वातावरण हुनुपर्छ। अहिले लगानी गर्न त्रासको अवस्था छ, जसका कारण लगानी गर्न सक्ने सोच भएका मानिसहरू विदेशिएको देखिन्छ।
प्रश्न: सरकारले हालसम्म कस्तो भूमिका खेलेको छ ?
नरेश कटवाल: सरकारले केही हदसम्म काम गरेको देखिन्छ। तर साना उद्योगी–व्यवसायीहरूले गति लिन सक्ने वातावरण अझै आवश्यक छ। अहिलेको सरकार निर्वाचन गराउने जिम्मेवारीमा रहेकोले ठूलो अपेक्षा राख्न सकिएको छैन।
प्रश्न: युवालाई उत्पादनसँग जोड्न के गर्नुपर्छ ?
नरेश कटवाल: आगामी दिनमा हरेक युवालाई उत्पादनसँग जोड्ने स्वच्छ वातावरण सिर्जना गर्नुपर्छ। राजनीतिक दलहरूले पनि बुझ्नुपर्छ कि उत्पादन नै मुलुकको अर्थतन्त्रको आधार हो।