फागुन २१ नजिकिँदै गर्दा देश चुनावी माहोलले तातेको छ। चोक–चौराहामा बहस छन्, सामाजिक सञ्जालमा तर्क छन्, अनि गाउँघरमा आशा र अन्यौल दुवै मिसिएका छन्। पुराना अनुहार कि नयाँ विकल्प ? यही दोधारमा मतदाता उभिएको देखिन्छ । म भने प्रदेश नं. ५ अन्तर्गत बर्दियाको नागरिक, आफ्नै माटोको कथा देखेर र भोगेर बोलिरहेकी छु। यहाँ चुनाव आउँछन्, नेताहरू आउँछन्, भाषण गुञ्जिन्छन्, तर समस्या भने वर्षौंदेखि उस्तै छन्। जनताले देखेको ठुलो परिवर्तन भन्नुपर्दा हुलाकी सडक बनेको हो, तर त्यो सडकले मात्र जीवनको गन्तव्य सजिलो बनाएको छैन।
बर्दियाको माटो उब्जाउ छ, तर किसानको आँखामा सधैं डर बस्छ । कर्णाली र बबई नदीको। वर्षेनी आउने बाढीले खेत डुबाउँछ, बस्ती बगाउँछ, सपना च्यातिदिन्छ। तटबन्धका नाममा आश्वासन छन्, तर दीर्घकालीन समाधान छैन। एक वर्षको मेहनत एक रातको बाढीले बगाइदिन्छ, अनि अर्को वर्ष फेरि त्यही पीडा दोहोरिन्छ। बसाइँसराइ बढ्दो छ, किनकि मानिसहरू घरभन्दा बढी सुरक्षित ठाउँ खोज्न बाध्य छन्। आफ्नो जन्मभूमि छोड्नुको पीडा कति गहिरो हुन्छ भन्ने कुरा कागजमा लेखेर मात्रै मापन हुँदैन।
बर्दियामा मानिसहरू खेतबाट जोगिए भने जंगलबाट डराउँछन्। हात्ती, बाघ, गैंडा यी हाम्रो प्राकृतिक सम्पदा हुन्, तर सीमाना र सुरक्षा बिना तिनै जनावर किसानका लागि त्रास बन्छन् । रातभर खेत कुर्ने किसान बिहान बाली नष्ट भएको दृश्य हेरेर निस्सासिन्छ। क्षतिपूर्ति पाउन प्रक्रिया जटिल छ, समय लाग्छ, र कहिलेकाहीँ आशा नै मर्छ। संरक्षण र जनजीवनबीच सन्तुलन कसरी मिलाउने भन्ने प्रश्न यहाँको दैनिक यथार्थ हो।
कृषि नै मुख्य आधार भए पनि मल र बीउ अभाव, सिँचाइको कमजोर व्यवस्था, र बजारको पहुँच नहुँदा किसान उत्पादन गरेर पनि नाफा देख्दैन। पसिनाले भिजेको खेतले पेट पाल्न नसकेपछि युवाले पासपोर्ट समाउँछ। बर्दियाका कति घरमा बिहानको चिया सँगै खाडी मुलुकको कुराकानी हुन्छ। गाउँका आँगनमा युवाको हाँसो घट्दै गएको छ, किनकि जिल्लामा उद्योग छैन, रोजगारी छैन, भविष्यको भरोसा छैन।
पूर्वाधारको कुरा गर्दा हुलाकी राजमार्गले आशा जगायो, तर भित्री सडकको अवस्था अझै कमजोर छ। बिरामी बोकेर अस्पताल पुग्दा बाटो नै ठूलो बाधा बन्छ। स्वास्थ्य सेवामा विशेषज्ञ डाक्टरको अभाव छ, गर्भवती महिला र जटिल बिरामीलाई जिल्ला बाहिर धाउनुपर्ने अवस्था छ। शिक्षा क्षेत्रमा सरकारी विद्यालयको स्तर खस्किँदो छ, प्राविधिक शिक्षा र सीप विकासको अवसर सीमित छन्। जसले पढ्न सक्छ, ऊ बाहिर जान खोज्छ; जो जान सक्दैन, ऊ यहीँ अवसरविहीन बस्छ।
भूमिहीनता र पुनर्स्थापनाका मुद्दा अझै अधुरा छन्। मुक्त कमैया, विपन्न समुदाय, सुकुम्बासी यी शब्दहरू भाषणमा धेरै सुनिन्छन्, तर जमिनमा परिवर्तन कम देखिन्छ। गरिबी केवल आम्दानीको समस्या होइन, अवसरको अभावको कथा हो। यहीँ बर्दिया निकुञ्ज विश्वस्तरको सम्भावना बोकेर उभिएको छ, तर पर्यटनको व्यवस्थित विकास र स्थानीय सहभागिता बिना त्यो सम्भावना अझै अधुरो सपना जस्तै लाग्छ।निर्वाचन आउँदैछ, उम्मेदवारहरू घरदैलोमा पुग्दैछन्। तर बर्दियाका जनताको मनमा एउटै प्रश्न गुञ्जिरहेको छ । हामीले वर्षौंदेखि बोकेको यी समस्याको भारी कसले साँच्चै हल्का गरिदिन्छ? हामीलाई भाषण होइन, समाधान चाहिएको छ। राहत होइन, दीर्घकालीन नीति चाहिएको छ। आश्वासन होइन, कार्यान्वयन देख्न चाहिएको छ। बर्दियाका जनताको आशा धेरै पटक टुटेको छ, तर विश्वास पूर्ण रूपमा मरेको छैन। सायद यही चुनाव त्यो मोड हो जहाँ जनताको आवाज नारा नभई नीति बन्न सकोस् ।