चितवन । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरूले परिचय पत्रसमेत लिएका छन् ।
जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताए ।
उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरू परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।”
जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरूले यसलाई लिखत रूपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ ।
स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरूले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए । “स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ”, उनले भने ।
घाइतेहरूको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उनको भनाइ छ ।
घाइतेलाई राहतस्वरूप सरकारले २० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । रासस