कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दै

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। 

महाधिवेशन कार्यतालिकाको विषयलाई लिएर विवाद बढेपछि शुक्रबार स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। 

त्यसअघि बिहीबारको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्न नपाउने भएपछि महामन्त्री गगन थापाले बैठक बहिस्कार गरेका थिए। 

शुक्रबार इतरपक्षका नेताहरु पुसमा महाधिवेशन गर्ने विषयमा एक मतसहित बैठकमा प्रस्तुत हुने तयारी गरे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्ताव गर्न नदिने भएपछि बैठक स्थगित भएको थियो। 

आजको बैठकमा भने संस्थापन र इतर दुवै पक्ष महाधिवेशनका लागि मध्यमार्गी प्रस्तावसहित बैठकमा प्रस्तुत हुने तयारीमा छन्। यसअघि इतरपक्ष मंसिरमा र संस्थापनपक्ष फागुनको आम निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने अडानमा रहँदा आन्तरिक विवाद बढेको थियो। 

आजको बैठकमा महाधिवेशन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुने र केही प्रस्तावहरु पेश हुन सक्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसको केन्द्रीय कार्य समिति बैठक असोज २८ गते सुरु भएको हो।

खबरपाटी
खबरपाटी