काठमाडौं – जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको खाेजी भइरहँदा नेपाली कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस सुरु भएको छ।
नेपाली कांग्रेस रामेछापको वर्तमान संगठनात्मक अवस्था तथा पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै,रामेछाप कांग्रेससँग आबद्ध युवाहरूले काठमाडाैंमा विशेष भेलासहित छलफल गरेका हुन्।
सनराइज फुडल्याण्ड मध्ये बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस रामेछापका युवाहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा युवाहरूलाई नेतृत्वको अवसर दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने माग पनि गरेका छन्।
नेपाल तरुणदलका केन्द्रिय सदस्य रमेश खड्काको संयोजकत्वमा भएको कार्यक्रममा उपस्थित युवाहरूले देशको सबैभन्दा ठूलो जनसांख्यिक संरचना युवामै भएकोले नेतृत्व प्रणाली पुनव्यवस्थित गर्न दबाब दिने निष्कर्ष निकालेका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशिलहरि बख्रेलका अनुसार पार्टीहरूसँग आबद्ध युवा संगठन र विद्यार्थी संगठनहरूले आगामी निर्वाचन तथा पार्टी महाधिवेशनमा युवा पुस्तालाई अग्रभूमिमा ल्याउन जोड दिएका हुन्।
नयाँ पुस्तासँग प्रविधि, विश्व सन्दर्भको बुझाइ, व्यवहारिक नेतृत्व शैली र परिवर्तनका लागि आवश्यक ‘ऊर्जा र गति रहेको भन्दै नेपाली कांग्रेस रामेछापका युवाहरूले अहिले नेतृत्वमा रहेकाहरूले यो कुरालाई बुझेर ‘युवा नेतृत्व’लाई जोड दिनुपर्ने कार्यक्रममा सहभागीहरूले बताएका हुन।