हिमपातका कारण हिमाली भेगकाे जनजीवन प्रभावित

हिमपातका कारण हिमाली भेगकाे जनजीवन प्रभावित

बेमौसममा परेको ठुलो हिमपातले हिमाली जिल्लाहरुमा जनजीवन अस्तव्यस्त भएको छ । निरन्तरको बाक्लो हिमपातले मुस्ताङ, मनाङ, खुम्बु लगायतका हिमाली क्षेत्रमा किसान र पर्यटक दुबैलाई समस्या परेको छ ।

स्याउ खेतीमा ठूलो क्षति पुगेको छ भने पर्यटकहरू पदयात्रा र गन्तव्यमा पुग्न नसकी फर्कन बाध्य भएका छन् । सोमबार
रातिदेखिको निरन्तर हिमपातले माथिल्लो मुस्ताङमा स्याउ खेती चौपट भएको छ । स्याउ टिपिसकेको तर पात नझरिसकेको अवस्थामा हिउँ पर्दा स्याउका बोटका हाँगा भाँचिएका छन् ।

मुक्तिनाथ क्षेत्रमा मंगलबार पनि दिनभर नै हिउँ पर्यो । मुक्तिनाथ क्षेत्रमा डेढ फिटसम्म र कागबेनीमाथिको गाउँ खिंगामा आधा फिटजति हिउँ जमेको छ । यसअघि सन् २०१६ को सेप्टेम्बरमा २०१९ को हिउँदमा पनि बाक्लो हिउँ परेको पनि यसपटक धेरै हिमपात भएको किसानले अनुभव गरेका छन् ।

उवाँ, जौ, आलुखेतीमा पनि हिमपातले नोक्सान गरेको छ । ८ गतेदेखि दैनिक ९ हजार पर्यटक मुस्ताङ पुगेको तथ्यांक रहे पनि मंगलबार भने तीन हजारमा झरेको छ । मनाङको तिलिचो ताल (४९१९ मिटर) तर्फ हिँडेकाहरू हिमपात भएसँगै बीचबाटै फर्कन बाध्य भएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार हिमपातका कारण पर्यटक गन्तव्यतर्फ जान रोकिएका छन् । अन्नपूर्ण प्रथम हिमालका उत्तरी र दक्षिणी आधार शिविरमा पनि सोमबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपातले जनजिवन कष्टकर भएको छ । दिङबोचे माथिको क्षेत्रमा डेढ फिट बाक्लो हिउँ जमेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार हिमपातका कारण सगरमाथा क्षेत्रमा ५ सयभन्दा बढी पर्यटक होटलभित्रै बस्न बाध्य भएका छन् । दोलखामा च्छो–रोल्पा र रोल्वालिङ क्षेत्रमा पदयात्रामा गएका पर्यटक पनि हिमपातका कारण फर्कन बाध्य भएका छन् । त्यस क्षेत्रमा पुगेका पर्यटक ना र बेदिङ झरेका छन् ।

 

खबरपाटी
खबरपाटी