बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत सकियो

बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत सकियो

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीनवटा पालिकालाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । वर्षा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक गाडी सञ्चालन हुन थालेका छन् ।

पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले वर्षा रोकिएपछि सडक मर्मत गरेर ठूला गाडी सञ्चालन गर्न मिल्ने बनाएको बताउनुभयो । सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी गाडी सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताउनुभयो ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा गएको असारदेखि ठूला गाडीहरु सञ्चालन हुन सकेका थिएनन् । यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

पहिरो खसिरहने भएकाले बेनी–दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् । 

खबरपाटी
खबरपाटी