काठमाडाैं ।पाकिस्तानको पञ्जाब प्रान्तका ६ जिल्लामा बाढीको अवस्थालाई ध्यानमा राख्दै सेना परिचालनको माग गरिएको छ । राज्यको गृह मन्त्रालयले केन्द्रीय गृह मन्त्रालयलाई पत्र लेख्दै सेना परिचालनको माग गरेको बीबीसी हिन्दीले जनाएको छ ।
तत्काल सेना परिचालनको माग गरिएका पञ्जाब प्रान्तका ६ जिल्लामा लाहोर, कसुर, सियालकोट, फैसलाबाद, नारोवाल र ओकारा छन् ।
पञ्जाब गृह मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा पञ्जाबका मुख्यमन्त्री मरियम नवाजको निर्देशनमा जिल्ला प्रशासनलाई सहयोग गर्न सेना बोलाइएको बताइएको छ।
विज्ञप्तिमा जिल्ला प्रशासन, प्रान्तीय विपद् व्यवस्थापन एजेन्सी, उद्धार, नागरिक रक्षा र प्रहरीले पहिले नै मोर्चामा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख छ ।
विज्ञप्तिमा पञ्जाबका ६ जिल्लामा सेनाको संख्या जिल्ला प्रशासनसँग परामर्श गरेर निर्णय गरिने पनि भनिएको छ ।
यद्यपि, आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रहरूमा सेनाले हवाई सहयोग र अन्य स्रोतहरू पनि उपलब्ध गराउनेछ ।
पञ्जाब सरकारका सबै सम्बन्धित निकायहरूले बाढीको अवस्थाको निगरानी गरिरहेको समाचारमा उल्लेख छ ।