काठमाडौं । राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । उनी राष्ट्र बैंकका १८ औं गभर्नर बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गभर्नर नियुक्त गरेको हो ।
झण्डै साढे दुई महिनाअघि नै नियुक्त हुनुपर्ने गभर्नर सत्ताधारी दल नेपाली कांग्रेस र एमालेबीचको किचलोले बल्ल नियुक्त भएको हो । गभर्नर नियुक्ति गर्न अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले आज मंगलबार नै पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।
अन्य दुई जनामा कामु गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए । सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।
सरकारको निर्णयले लामो समयदेखि पहिलो महिला गभर्नर हुने प्रयासमा रहेकी डा. नीलम ढुंगानालाई निराश बनाएको छ । गभर्नर बन्ने आकांक्षाका साथ मौद्रिक नीतिमा विद्यावारिधि गरेर विगत दुई–तीन बर्षदेखि प्रयास गर्दै आएकी उनलाई गभर्नर बनाउने प्रधानमन्त्री केपी ओलीदेखि थुप्रै प्रभावशालीहरुले आश्वासन दिँदै आएका थिए । ढुंगानाले कांग्रेस नेतृ एवं सो पार्टीकी सभापति शेरबहादुर देउवाकी पत्नी (हालकी परराष्ट्रमन्त्री) आरजु राणासँग समेत भेट गरेकी थिइन् । भेटमा आरजुले सकारात्मक आश्वासन दिए पनि अन्तिममा आफ्ना बफादार कार्यकर्तालाई गभर्नर बनाएर नीलमलाई निराश बनाएकी छन् ।