काठमाण्डौ – सरकारले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउने भएको छ । सरकारको तर्फबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यान्त्रिकीकरणमार्फत देशलाई कृषिमा आत्मनिर्भर बनाइने बताउनुभयो ।
राष्ट्रपति पौडेलले कृषिमा युवा जनशक्तिलाई आकर्षण गर्न भूमि, कृषि सामग्री, बजार तथा बीमाको ुइको–सिस्टमु बलियो बनाइने उल्लेख गर्नुभयो । उहाँले भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गरिने बताउनुभयो ।
आफूले गर्न लागेको व्यवसायको परियोजना धितो राखी स्थानीय वित्तीय संस्थामार्फत आर्थिक तथा कृषि उपजका सामग्रीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि क्षेत्रमा जुनसुकै क्षेत्रमा काम गर्ने भए पनि प्रणालीमा आबद्ध गरी पाइलट प्रोजेक्ट शुरू गरिने भएको छ ।
राष्ट्रपति पौडेलले पशुपक्षी तथा मत्स्य व्यवसायबाट उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा तथा किसानको आम्दानीमा वृद्धि गरिने बताउनुभयो ।