बैंकमाथि प्रहार कुनैपनि हालतमा स्वीकार्य नहुँने, अफवाह फैलाउनेलाई तत्काल कारबाही गर्न सरकारसँग माग

बैंकमाथि प्रहार कुनैपनि हालतमा स्वीकार्य नहुँने, अफवाह फैलाउनेलाई तत्काल कारबाही गर्न सरकारसँग माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थामाथि अतिरञ्जित अभिव्यक्ति दिने र गलत अफवाह फैलाउने विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बद्ध चारवटा संस्था विरोधमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन), नेपाल बैंकर्स संघ (एनबीए), नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ संयुक्त रुपमा बैंक तथा वित्तीय संस्थामाथिको प्रहार विरुद्ध उत्रिएका हुन् ।

हालैमात्र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष समेत रहेका व्यवसायी चन्द्रप्रसाद ढकालको पाथिभरामा बन्न लागेको केबलकारको मुद्दालाई लिएर केहीँ विरोधीहरुले ग्लोबल आईएमई बैंकमाथि प्रहार शुरु गरेका छन् । बैंकका अध्यक्ष समेत रहेका ढकाललाई जोडेर बैंकमाथि हमला गर्न थालेपछि चारवटै संगठनले आपत्ति जनाएको हो ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था सम्बद्ध संगठनहरुले अति संवेदनशील तर सुरक्षित रहेको बैंकमाथि प्रहार कुनैपनि हालतमा स्वीकार्य नहुँने भन्दै यस्तो क्षेत्रमा गलत सन्देश, अभिव्यक्ति तथा अफवाह फैलाउनेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको सबंविदितै छ। अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त लगायतको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ। नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।

यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ।

यस संघहरुसंग सम्वन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृक्तिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं ।

सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौं। साथै, आम९सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट बञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गर्दछौ’ संयुक्त विज्ञापनमा भनिएको छ ।
 

खबरपाटी
खबरपाटी