‘स्वदेशी लगानीका उद्योगहरूलाई प्रवर्द्धन गर्नुपर्छ’

स्वदेशी लगानीमा सञ्चालित उद्योगहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशेष जोड दिइएको छ ।

‘स्वदेशी लगानीका उद्योगहरूलाई प्रवर्द्धन गर्नुपर्छ’

काठमाडौं । स्वदेशी लगानीमा सञ्चालित उद्योगहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशेष जोड दिइएको छ । बाराको जितपुरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले स्वदेशी उद्योगका प्रवर्द्धनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । 

बारा–पर्सा औद्योगिक करिडोरमा नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिद्वारा सञ्चालित नेपोभिट टाइल्स कम्पनीले आयोजना गरेको अन्तक्र्रियाका वक्ताले स्वदेशी लगानीमा सञ्चालित उद्योगको संरक्षण र प्रवर्द्धन हुन सकेमात्र मुलुकको अर्थतन्त्रमा सुधार आउने र रोजगारीको वातावरण सिर्जना हुने भएकाले यसमा सबै पक्ष गम्भीर हुनुपर्ने बताएका हुन् । 

कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वदेशी लगानीमा सञ्चालित उद्योग तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपोभिट टाइल्सलगायतका स्वदेशी लगानीका उद्योगको संरक्षण र प्रवर्द्धन गर्न सकिए स्वदेशमै रोजगारीको वातावारण सिर्जना हुने बताउनुभयो । 

स्थानीय कच्चा पदार्थको प्रयोग गरी स्थानीय कामदारबाट सञ्चालित नेपोभिट टाइल्स कम्पनीलगायतका स्वदेशी लगानीका उद्योगलाई नेपालमै सहजरूपमा माटो नपाउने, भन्सार दर्ता नहुनुलगायतका समस्यालाई तीनै तहको सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । 

 कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले राजस्व बुझाउने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने उद्योगको संक्षण गर्न र प्रवर्द्धन गर्न तयार रहेको बताउनुभयो । उहाँले उद्योगलाई निर्धक्कपूर्वक उद्योग सञ्चालनको वातावरण बनाउन र केही समस्या भए सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा सुवोध गुप्ताले स्वदेशमा कच्चा पदार्थ र दक्ष जनशक्तिको आभावमा स्वदेशी उत्पादनका उद्योग धरासायी भइरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय लगानीका उद्योगहरूका कारण स्वदेशी लगानीका उद्योग धरासायी भइरहेको उहाँको भनाइ छ । उहाँले टाइल्स उद्योग, सिमेन्ट उद्योग, छड उद्योगजस्ता कम लगानीमा सञ्चालन हुने उद्योगमा पनि अन्तर्राष्ट्रिय लगानी हुनु स्थानीय उद्योगका लागि दुःखद् रहेको बताउनुभयो ।
 
नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिका अध्यक्ष शम्भुनाथ झाले नेपालमा नै टाइल्स उत्पादन गर्न प्रचुर मात्रामा उपलब्ध भएको कच्चा पदार्थको पहिचान गरी स्वदेशमै उचित मूल्यमा विश्वसनीय टाइल्स उपलब्ध गराउने उद्देश्यका साथ टाइल्स उद्योग सञ्चालनमा ल्याइएको बताउनुभयो ।

गत २०७९ सालदेखि बाराको जितपुर उपमहानगरपालिकामा सञ्चालित सो उद्योगमा आफूहरूले देशभरि करिब पाँच सय जनालाई रोजगारी दिएको दाबी गर्दै उहाँले विगत एक वर्षमा टाइल्स आपूर्तिमा खर्च हुने लाखौँ डलर स्वदेशमै राख्न सफल भएको बताउनुभयो । 

करिब रु २०० करोडको लागनीमा सञ्चालित उक्त उद्योगमा कार्यरत तीन सय कामदारमध्ये दुई सय ५० कामदार नेपाली रहेको उहाँको भनाइ छ । करिब साढे पाँच बिघा क्षेत्रफलमा स्थापना गरिएको सो उद्योगबाट उत्पादित टाइल्स अहिले स्वदेशमै बिक्री वितरण गर्दै आएको र केही समयपछि युरोप मुलुकमा पठाउने तयारी भइरहेको अध्यक्ष झाले जानकारी दिनुभयो । नेपाल सेरामिक इन्टष्ट्रिज प्रालिका निर्देशक बिभा झाले आफ्नो उद्योगले स्थानीय कच्चा पदार्थबाट गुणस्तरीय सामान उत्पादन गरी नेपाली बजारमा पठाइरहेको बताउनुभयो । रासस

खबरपाटी
खबरपाटी