आदिकविको ससुराली गाउँमा जन्मजयन्ती मनाइने

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ ।

आदिकविको ससुराली गाउँमा जन्मजयन्ती मनाइने

काठमाडौं । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ । 

भानु जयन्तीको अवसरमा यही असार २९ गते शुक्रबार आदिकविको ससुराली गाउँ मानुङमा साहित्यिक कार्यक्रम गर्न लागिएको हो । आदिकवि भानुभक्त आचार्यकी धर्मपत्नी चन्द्रकला खनाल आचार्यको नामबाट स्थापित ‘आदिकवि भानुभक्त आचार्यरचन्द्रकला खनाल आचार्य स्मृति प्रतिष्ठान’ले भानुभक्तसँगै उनकी श्रीमतीको पनि स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सचिव रामहरि खनालले जानकारी दिनुभयो । 

सो अवसरमा कविता वाचन, रामायण वाचनका साथै भानुभक्त र चन्द्रकलाको जीवनीबारे कार्यपत्र प्रस्तुत गरिनेछ । आदिकविको योगदानको महिमा चर्चा गर्दै गर्दा उनकी धर्मपत्नीको योगदानलाई पनि उपेक्षा गर्न नहुने भन्दै उनको सम्मानमा कार्यक्रम आयोजना गरिएको सामाजिक अभियन्ता देवीबहादुर बस्नेतले जानकारी दिनुभयो । आजसम्म भानुको मात्र स्मरण गर्दै आएको भन्दै उहाँले अब भानुसँगै श्रीमतीको पनि स्मरण गर्न आवश्यक छ भन्ने महसुस गरिएको उल्लेख गर्नुभयो ।

साथै मानुङको पर्यटकीय सम्भावनालाई उजागर गरी साहित्य र पर्यटनसँगै विकास गर्ने उद्देश्यले पनि अभियान थालिएको उहाँको भनाइ छ । मानुङकोट, दमौलीलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन यो अभियान कोसेढुङ्गा सावित हुने बस्नेतले बताउनुभयो ।

व्यासका अध्येता काशीनाथ न्यौपानेले आदिकविको नाम मानुङकोटसँग जोडिनु गर्वको विषय भएको बताउनुभयो । व्यास क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश भट्टराईले आदिकविकी पत्नीको योगदानको पनि उत्तिकै महिमा हुनुपर्ने बताउनुभयो । प्रतिष्ठानले निकट भविष्यमा मानुङमा आदिकवि र उनका दुवै श्रीमतीको प्रतिमा स्थापना गर्ने लक्ष्य राखेको छ । मानुङ आउने पर्यटकहरूलाई नेपाली भाषिक एकीकरणमा उनले पु¥याएको योगदान र मानुङसँगको उनको सम्बन्धबारे जानकारी हुने गरी प्रतिमा स्थापना गरिने प्रतिष्ठानका कोषाध्यक्ष विनोद खनालको भनाइ छ । 

भानुभक्तकी पहिली श्रीमतीको १८ महिनामै मृत्यु भएपछि उनले चन्द्रकलासँग विवाह गरेका थिए । चन्द्रकलाको स्मृतिमा विसं २०७० मा चूडामणि खनालको नेतृत्वमा यो संस्थाको स्थापना गरिएको थियो । रासस

खबरपाटी
खबरपाटी