नक्कली शरणार्थी प्रकरणमा आज ३० जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६जनासहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले आज अदालतमा अभियोगपत्र दर्ता गर्दैछ

नक्कली शरणार्थी प्रकरणमा आज ३० जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६जनासहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले आज अदालतमा अभियोगपत्र दर्ता गर्दैछ ।

दिउसो २ बजेपछि अभियोगपत्र दर्ता गर्न लागिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई आजसम्म हिरासतमा राख्न अनुमति दिएको छ । 

पक्राउ परेकाबाहेक थप १४ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहन्यायाधिवक्ता अचुतमणि नेउपानेले आज अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको जानकारी गराएका छन् ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर निवेदन तयार पारिएको छ । प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

यस प्रकरणका योजनाकार एवम् विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ । आज यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ ।  सोही कारण आजै निवेदन दर्ताको तयारी गरिएको हो ।

खबरपाटी
खबरपाटी